तिहार : उज्यालो, आस्था र आत्मीयताको पर्व

मोहन गौतम राङ्का परबिङ, पूर्व सिक्किम
• अन्य • ०७ नोभेम्बर, २०२६
तिहार : उज्यालो, आस्था र आत्मीयताको पर्व

मानव सभ्यताको इतिहासमा चाड़पर्वहरू केवल मनोरञ्जन र उत्सवका अवसर मात्र होइनन्; ती जीवनका अनुभूति, सांस्कृतिक परम्परा, धार्मिक आस्था र सामाजिक सद्भावका जीवन्त प्रतिबिम्ब पनि हुन्। यिनै चाड़पर्वहरूको गौरवशाली शृङ्खलामा दीपावली अर्थात् तिहार हिन्दु धर्मावलम्बीहरूको एक महान्, पवित्र र उल्लासमय पर्वका रूपमा स्थापित छ। अन्धकारमाथि प्रकाशको, असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको तथा निराशामाथि आशाको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले मानव जीवनमा सकारात्मक ऊर्जा, प्रेम, सद्भाव र आत्मीयताको दिव्य सन्देश प्रवाह गर्दछ।

दीपावलीको धार्मिक तथा पौराणिक महत्त्व

‘दीपावली’ शब्द संस्कृतका ‘दीप’ र ‘आवली’ शब्दबाट बनेको हो, जसको अर्थ दीपहरूको पङ्क्ति वा प्रकाशको शृङ्खला भन्ने हुन्छ। दीपावलीको मूल भाव अन्धकार हटाएर उज्यालोको स्थापना गर्नु हो। यस पर्वसँग विभिन्न धार्मिक तथा पौराणिक मान्यताहरू जोड़िएका छन्।

हिन्दु धार्मिक परम्पराअनुसार भगवान् श्रीरामले चौध वर्षको वनवास पूरा गरी रावणमाथि विजय प्राप्त गरेपछि अयोध्या फर्कनुभएको शुभ अवसरमा अयोध्यावासीहरूले दीप प्रज्वलित गरेर उहाँको स्वागत गरेका थिए। यसै स्मृतिलाई दीपावलीको एक प्रमुख आधार मानिन्छ। भगवान् श्रीरामको आगमनले सत्य, धर्म, मर्यादा र न्यायको पुनःस्थापनाको सन्देश दिएको थियो। त्यस्तै, भगवान् श्रीकृष्णले नरकासुरको वध गरी अन्याय र अत्याचारबाट जनतालाई मुक्त गराउनुभएको प्रसङ्ग पनि दीपावलीसँग सम्बन्धित छ। यसले अन्यायमाथि न्यायको र दुष्ट प्रवृत्तिमाथि सद्गुणको विजयलाई स्मरण गराउँछ। दीपावलीमा माता लक्ष्मीको विशेष पूजा गरिन्छ। हिन्दु धार्मिक विश्वासअनुसार माता लक्ष्मी धन, ऐश्वर्य, वैभव, सौभाग्य र समृद्धिकी देवी हुनुहुन्छ। यस दिन घर, आँगन र पूजास्थल सफा तथा सुन्दर बनाएर दीप प्रज्वलित गर्दै सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। यद्यपि, साँचो समृद्धि केवल धनसम्पत्तिमा मात्र सीमित हुँदैन; सदाचार, सन्तोष, प्रेम, परोपकार र आत्मिक शान्ति पनि जीवनका अमूल्य सम्पत्ति हुन्।

तिहार : पाँच दिनको सांस्कृतिक महोत्सव

नेपाली समाजमा दीपावलीलाई तिहारका रूपमा पाँच दिनसम्म विशेष उत्साहका साथ मनाइन्छ। प्रत्येक दिनको आफ्नै धार्मिक, सांस्कृतिक र भावनात्मक महत्त्व रहेको छ।

काग तिहार

तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। कागलाई सन्देशवाहक तथा शुभ-अशुभ समाचारको प्रतीकका रूपमा लिने परम्परा छ। कागलाई भोजन अर्पण गरेर प्रकृतिका सबै जीवप्रति सम्मान र सहअस्तित्वको भावना प्रकट गरिन्छ। यसले चराचुरुङ्गी तथा जीवजन्तु पनि हाम्रो पर्यावरणीय जीवनका अभिन्न अङ्ग हुन् भन्ने सन्देश दिन्छ।

कुकुर तिहार

दोस्रो दिन कुकुरको पूजा गरिन्छ। कुकुरलाई मानिसको विश्वासिलो साथी, रक्षक र स्वामिभक्त प्राणीका रूपमा सम्मान गरिन्छ। फूलमाला र टीका लगाइदिई मीठो भोजन दिएर कुकुरप्रति कृतज्ञता व्यक्त गरिन्छ। यस परम्पराले मानिस र पशुबीचको आत्मीय सम्बन्धलाई उजागर गर्नुका साथै सम्पूर्ण प्राणीप्रति दया र करुणा राख्न प्रेरित गर्दछ।

गाई तिहार तथा लक्ष्मी पूजा

तिहारको औँसीका दिन गाईको पूजा र माता लक्ष्मीको आराधना गरिन्छ। हिन्दु धर्ममा गाईलाई मातृवत् सम्मान गरिन्छ। कृषि प्रधान नेपाली समाजमा गाईको दूध, गोबर तथा अन्य उपयोगिताले जनजीवन र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

साँझपख घर, आँगन, झ्याल, ढोका र पूजास्थलमा दीप प्रज्वलित गरिन्छ। कतै माटाका दियाली, कतै बत्तीका माला र कतै रङ्गीन प्रकाशले घर तथा बस्तीहरू झिलिमिली हुन्छन्। घरको मूलढोकामा रङ्गोली तथा फूलले सजावट गरिन्छ। माता लक्ष्मीको स्वागत गर्दै सुख, शान्ति, सौभाग्य र समृद्धिको कामना गरिन्छ।

गोवर्धन पूजा तथा गोरु तिहार

तिहारको चौथो दिन विभिन्न समुदायमा गोवर्धन पूजा तथा गोरु तिहार मनाइन्छ। गोवर्धन पूजाले भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीहरूलाई प्राकृतिक विपत्तिबाट संरक्षण गर्नुभएको पौराणिक प्रसङ्गलाई स्मरण गराउँछ। यसले प्रकृति, पर्यावरण र सामूहिक संरक्षणको महत्त्व दर्शाउँछ। गोरु तिहारमा कृषि कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गोरुको पूजा गरिन्छ। यसले कृषक जीवन, श्रम र उत्पादनप्रति सम्मान व्यक्त गर्दछ। नेवार समुदायमा यसै दिन ‘म्हः पूजा’ अर्थात् आत्मपूजा गरिन्छ। आफ्नै शरीर, आत्मा र जीवनको सम्मान गर्दै स्वास्थ्य, सुख, दीर्घायु तथा आत्मिक उन्नतिको कामना गर्ने यो परम्परा अत्यन्त अर्थपूर्ण छ। यसले मानव जीवन स्वयं पूजनीय र सम्मानयोग्य छ भन्ने दर्शन प्रस्तुत गर्दछ।

भाइटीका

तिहारको अन्तिम दिन भाइटीका मनाइन्छ। यो पर्व दाजु-भाइ तथा दिदी-बहिनीबीचको प्रेम, विश्वास, आत्मीयता र पारिवारिक सम्बन्धको अनुपम प्रतीक हो। दिदी-बहिनीहरूले दाजु-भाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र सफलताको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन्। फूलमाला, उपहार, मिठाई र आशीर्वादको आदानप्रदान गरिन्छ। दाजुभाइहरूले पनि दिदीबहिनीप्रति स्नेह, सम्मान र संरक्षणको भावना व्यक्त गर्दछन्। यस दिनको विशेषता टीका लगाउनु र उपहार दिनुमा मात्र सीमित छैन; यसले पारिवारिक सम्बन्धलाई सुदृढ़ बनाउने, विगतका मनमुटाव हटाउने र आत्मीयताको नवीकरण गर्ने अवसर प्रदान गर्दछ।

देउसी-भैलो : लोकसंस्कृतिको मधुर स्वर

तिहारको अर्को महत्त्वपूर्ण आकर्षण देउसी-भैलो हो। गाउँघरदेखि सहरबजारसम्म बालबालिका, युवायुवती तथा विभिन्न समूहहरू देउसी-भैलो खेल्दै घरघरमा पुग्छन्। गीत, नृत्य, मादल, बाँसुरी र अन्य बाजागाजाको मधुर ध्वनिले वातावरणलाई उल्लासमय बनाउँछ। देउसी-भैलो नेपाली लोकसंस्कृतिको जीवन्त अभिव्यक्ति हो। यसमा मनोरञ्जनका साथै सामाजिक एकता, सामूहिक सहभागिता र परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण पनि निहित छ। देउसी-भैलोका गीतहरूमा घरपरिवारको प्रशंसा, सुख-समृद्धिको कामना, हास्यव्यङ्ग्य तथा सामाजिक चेतनाका विविध भावहरू व्यक्त गरिन्छन्। आजको बदलिँदो परिवेशमा देउसी-भैलोलाई केवल आर्थिक सङ्कलनको माध्यम नबनाई यसको मौलिक सांस्कृतिक स्वरूप, मर्यादा र सिर्जनात्मक पक्षको संरक्षण गर्नु आवश्यक छ।

तिहार र सामाजिक सद्भाव

तिहारको सुन्दरता धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यो जातीय, भाषिक, सांस्कृतिक तथा सामाजिक विविधताबीच एकता र सद्भाव स्थापित गर्ने पर्व पनि हो। नेपाल, भारत तथा संसारका विभिन्न भूभागमा बसोबास गर्ने नेपाली समुदायले तिहारलाई आफ्नो मौलिक संस्कृति र पहिचानको प्रतीकका रूपमा मनाउँदै आएका छन्। परदेशमा रहेका नेपालीहरूका लागि तिहार मातृभूमिको सम्झना, परिवारको आत्मीयता र सांस्कृतिक जरासँग पुनः जोडिने अवसर पनि हो। घरबाट टाढ़ा रहेका मानिसहरूका मनमा तिहारले आफ्ना प्रियजनसँग भेटघाट गर्ने, पुराना सम्झनाहरू ताजा बनाउने र आत्मीयताको अनुभूति गर्ने चाहना जगाउँछ। तिहारले हामीलाई जात, धर्म, भाषा, वर्ग र भूगोलका विभाजनभन्दा माथि उठेर मानवताको साझा सूत्रमा बाँधिन प्रेरित गर्दछ। यसको वास्तविक सौन्दर्य अरूको खुशीमा आफ्नो खुशी खोज्नु, दुःखीको पीड़ामा सहानुभूति राख्नु र समाजमा प्रेम तथा सद्भावको दीप प्रज्वलित गर्नुमा निहित छ।

आधुनिकता र तिहारको मौलिकता

समयसँगै चाड़पर्व मनाउने शैलीमा परिवर्तन आएको छ। आधुनिक प्रविधि, विद्युतीय सजावट र नयाँ मनोरञ्जनका माध्यमहरूले तिहारलाई थप आकर्षक बनाएका छन्। तर आधुनिकताको नाममा चाड़पर्वको मौलिकता, सामाजिक मर्यादा र पर्यावरणीय सन्तुलनलाई बिर्सनु हुँदैन। पटेका तथा आतिशबाजीको अत्यधिक प्रयोगले वायु तथा ध्वनि प्रदूषण बढ़ाउनुका साथै जीवजन्तुमा नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले वातावरणमैत्री दीपावली मनाउनु आजको आवश्यकता हो। माटाका दियाली, प्राकृतिक फूल, स्थानीय सामग्री र कम प्रदूषणकारी सजावटलाई प्राथमिकता दिन सकिन्छ। त्यस्तै, चाड़पर्वमा अनावश्यक खर्च, देखावटी प्रतिस्पर्धा र आर्थिक बोझबाट टाढ़ा रहनु पनि उत्तिकै महत्त्वपूर्ण छ। तिहारको खुसी महँगा उपहार वा भौतिक वैभवमा होइन, आपसी प्रेम, सम्मान, स्नेह र आत्मीयतामा खोजिनुपर्छ।

उज्यालोको वास्तविक अर्थ

दीपावलीको मूल सन्देश बाहिरी संसारलाई प्रकाशमय बनाउनु मात्र होइन, आफ्नै मनभित्रको अज्ञानता, अहङ्कार, ईर्ष्या, द्वेष, घृणा र स्वार्थको अन्धकार हटाउनु पनि हो। यदि हाम्रो घरमा हजारौँ दीप प्रज्वलित भए पनि मनमा घृणा र द्वेषको अन्धकार रहिरह्यो भने दीपावलीको वास्तविक अर्थ अधुरो हुनेछ। यदि हामीले अरूको दुःख बुझ्न सकेनौँ, पीड़ितलाई सहयोग गर्न सकेनौँ र समाजमा सद्भाव कायम गर्न सकेनौँ भने पर्वको आध्यात्मिक सारलाई पूर्ण रूपमा आत्मसात् गर्न सक्दैनौँ। त्यसैले तिहारले हामीलाई आफ्नो मन, विचार र व्यवहारलाई उज्यालो बनाउन प्रेरित गर्नुपछर्। सत्य बोल्ने, न्यायको पक्षमा उभिने, श्रमको सम्मान गर्ने, प्रकृतिको संरक्षण गर्ने र सबैप्रति करुणा राख्ने जीवनशैली नै दीपावलीको वास्तविक उपहार हो।

उपसंहार

दीपावली अर्थात् तिहार हाम्रो धार्मिक आस्था, सांस्कृतिक गौरव, पारिवारिक आत्मीयता र सामाजिक सद्भावको अनुपम सङ्गम हो। यसले जीवनमा आशा, विश्वास, प्रेम र सकारात्मकताको नयाँ ऊर्जा सञ्चार गर्दछ। दीपावलीको प्रत्येक दीपले अन्धकार हटाउने सङ्कल्प बोकेको हुन्छ; प्रत्येक टीकाले सम्बन्धको गहिराइ र प्रत्येक देउसी-भैलोले सामूहिक खुसीको सन्देश प्रवाह गर्दछ।

आउनुहोस्, यस महान् पर्वलाई केवल परम्परा निर्वाह गर्ने अवसरका रूपमा मात्र नलिई मानवता, भाइचारा, सद्भाव, सहिष्णुता र परोपकारको जीवन्त उत्सव बनाऔँ। आफ्ना घरहरू मात्र होइन, मन र समाजलाई पनि उज्यालो बनाऔँ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विश्वशान्ति, मानवकल्याण र सुखमय जीवनको कामना गरौँ।

पावलीको प्रत्येक दीपले मानव हृदयमा प्रेमको ज्योति प्रज्वलित गरोस्, तिहारको प्रत्येक रङ्गले जीवनमा खुसीको बहार ल्याओस् र भाइटीकाको प्रत्येक आशीर्वादले संसारभरका दाजुभाइ तथा दिदी-बहिनीबीच आत्मीयता, एकता र अटुट सद्भाव कायम राखोस्।

सबैमा दीपावली तथा तिहारको हार्दिक मङ्लमय शुभकामना!

तमसो मा ज्योतिर्गमय।

अर्थात्- हे प्रभु, हामीलाई अन्धकारबाट प्रकाशतर्फ लैजानुहोस्।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ