‘मनीषी’ डेनियल (दान) खालिङ
- गोसा झापाली
जब तुम आए जगत में, जगत हँसे तुम रोए।
ऐसा कर्म कर चलो, तुम हँसो जग रोए॥
-महावाणी
सन्तान प्राप्तिको खुशीयालीमा सम्पूर्ण परिवार हाँस्छन्, नाच्छन् अनि उत्सव मनाउँछन्। नयाँ सदस्यको आगमनमा इष्टमित्रसहित सबै खुसी हुन्छन्। यो परम्परा संसारभरि नै चलिआएको प्रक्रिया हो। बच्चा जब जन्मिन्छ, रुँदै जन्मिन्छ। गर्भावस्थामा रहँदाको पीड़ायुक्त जीवनबाट छुटकारा पाउन ऊ छटपटाउँछ। तर उसका परिवारका सदस्यहरू भने खुशी मनाइरहेका हुन्छन्।
“तिमी जन्मिँदा खुब रोयौ, तर जगत् भने खुब हाँस्यो। जन्मेर आएपछि यस्तो कर्म गर कि मरेर जाँदा तिमी हाँस्दै जाऊ अनि तिम्रो कर्म देखेर जगत् रोओस्। तिम्रो मृत्युबाट जगत्मा एउटा अपूरणीय क्षतिको आभास होस्। एक जना असल व्यक्तिको निधनमा सम्पूर्ण जगत् छटपटाओस् र सबैलाई उसको अभाव महसुस होस्।”
उपर्युक्त उक्तिको शाब्दिक अर्थ यही हो। संसारमा विरलै त्यस्ता व्यक्तिहरू जन्मिन्छन्, जसले समाजलाई केही दिएर जान्छन्। तर त्यस्ता व्यक्तिहरू यस संसारबाट सधैँका लागि विदा भइसकेपछि मात्र समाजले उनीहरूले लगाएको गुणको महत्त्व बुझ्दछ। अनि समाज पछुताउँछ, छटपटाउँछ। जीवित छँदा उनीहरूका लागि केही गर्न सकिएन। उनीहरूले महान् कार्य गरेर गए, तर त्यतिबेला थाहा भएन अथवा थाहा गरिएन। जब उनीहरूका कृतिहरूबारे विस्तृत जानकारी प्राप्त हुन्छ, त्यतिबेला मात्र उनीहरूप्रति सम्मानको भावना जागृत हुन्छ। उनीहरूको स्मरण गर्ने, उच्च सम्मान गर्ने तथा यस्ता कार्यक्रमहरू आयोजना गर्ने क्रम शुरु हुन्छ।
सन्दर्भ मूर्धन्य विद्वान् श्री डेनियल खालिङ (दान खालिङ) सरको हो। उहाँले देश र समाजलाई लगाएर जानुभएको गुण देश र समाजले भुक्तान गर्न सक्दैन। आज उहाँलाई सम्झँदा मात्र उहाँले लगाउनुभएको गुणबारे जानकारी भइरहेको छ। विषय टड्कारो र मननीय छ। एक विद्वान् व्यक्तिले आफ्नो जीवन समाजको उत्थानका लागि समर्पण गरेर, व्यक्तिगत स्वार्थबाट माथि उठ्दै, संसारका बन्धनबाट मुक्त भई निष्काम कर्मयोगीका रूपमा भावी समाजलाई शिक्षा र ज्ञान दिएर, निर्मल सन्त बनेर जान सक्नुभयो। समाजले उहाँले लगाउनुभएको ऋण कदापि तिर्न सक्दैन। तथापि समाज उहाँका लागि केही गर्न भने चाहन्छ। कुनै कार्यक्रमको माध्यमबाट समाजमा उहाँले लगाउनुभएको गुणको प्रशंसा गर्न चाहन्छ।
यही कुरालाई मनन गर्दै यस्ता व्यक्तिको उच्च कदर हुनुपर्छ भन्ने उद्देश्यले वि.सं. 2082 फागुन 30 गते उहाँको स्मरणमा साहित्यकार, पत्रकार, विद्वत्वर्ग, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरू तथा ठूलो सङ्ख्यामा उपस्थित विद्यार्थीहरूका माझ नेपाल प्रतिभा पुरस्कार प्रोत्साहन प्रतिष्ठान, बिर्तामोडले एउटा भव्य कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा उहाँका परिवारजनलाई निमन्त्रणा गरी पुरस्कृत तथा सम्मानित गरियो।
दिवङ्गत दान खालिङ सरको सम्झनामा सम्पन्न गरिएको उक्त कार्यक्रमले समाजलाई एउटा राम्रो सन्देश दिएको छ। यस्ता वैचारिक तथा बौद्धिक योगदान दिएर जाने व्यक्तिहरूको चर्चा गर्ने, उहाँहरूको निकट रहेर लामो समयसम्म वैचारिक लाभ लिनेहरूबाट यथार्थ कुरा सुनेर वा पढ़ेर पनि दिवङ्गत व्यक्तित्वको सम्मान गर्न सकिन्छ। यही अभिप्रायले बिर्तामोड निवासी समाजसेवी श्री गोपालकुमार बस्नेतलगायत उहाँका परिवारजनले उक्त भव्य कार्यक्रम आयोजना गर्नुभएको हो।
एक सम्मानित व्यक्तित्व जीवित रहँदै उहाँका लागि केही गर्न अनुकूल परिस्थिति नबनेको अवस्थामा देहावसानपछि सम्पन्न गरिएको कार्यक्रमले पनि ठूलो सार्थकता पाएको छ। उक्त भव्य कार्यक्रममा उपस्थित दिग्गज व्यक्तित्वहरूले खालिङ सरका बारेमा आफ्ना विचार राख्दै गर्दा र ती विचारहरू सुन्दै गर्दा मलाई भने उहाँ यतै कतै भौतिक रूपमै उपस्थित हुनुहुन्छ कि भन्ने भान भइरह्यो।
ई.सं. 1969/70 ताका बङ्गालको सिलगढ़ीशहरमा विद्यार्थी जीवन बिताउँदै गर्दा मैले पनि उहाँको सङ्गत गर्ने मौका पाएको थिएँ। मेरो अध्ययन सिलगढ़ी कलेज अफ कमर्समा भइरहेको समयमा उहाँसँग पहिलो भेट स्थानीय निवासी साहित्यकार मीमलाल सापकोटाको घरमा भएको हो। उहाँ धेरै ठूलो विद्वान् हुनुहुन्छ भनेर परिचय गराइएको थियो।
मैले सुने-बुझेअनुसार उहाँ दार्जीलिङ निवासी हुनुहुन्थ्यो। बाल्यकालदेखि नै तीक्ष्ण बुद्धि भएका, तेजस्वी तथा अब्बल व्यक्तित्वका धनी हुनुहुन्थ्यो। अध्ययन पूरा गरेपछि राजनीतिमा होमिने विचारले बन्दुक बोकेर पशुपतिनगरतिरबाट नेपाल प्रवेश गर्नुभएको रहेछ। पछि राजनीतिभन्दा शिक्षा, भाषा र साहित्यलाई बन्दुकभन्दा उच्च ठानेर त्यसैलाई पूर्ण रूपमा अँगाल्नुभएका खालिङ सरले आफ्नो कर्मथलो काठमाडौँलाई बनाउनुभएछ। ठूलो संयम र मेहनतका साथ आफूलाई सामाजिक क्षेत्रमा स्थापित गर्दै लैजाने क्रममा कालान्तरमा उहाँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यसम्म बन्न सफल हुनुभएछ।
नेपालको पहिलो बोर्डिङ स्कुल फर्पिङमा केही वर्ष अध्यापन गराएपछि उहाँ त्यही स्कुलको प्रिन्सिपल बन्नुभएछ। तत्कालीन राजपरिवारका सदस्यहरू पनि त्यहाँ अध्ययन गर्दारहेछन्। पूरै राजपरिवार मासिक वा वार्षिक रूपमा त्यस स्कुलको भ्रमण गर्दारहेछन्। यही क्रममा तत्कालीन राजा महेन्द्रले उहाँको ज्ञान तथा क्षमता देखेर आकर्षित भई आफ्नो आन्तरिक सल्लाहकारजस्तो गरिमामय पदमा सरलाई नियुक्त गरेको कुरा थाहा लाग्छ।
सल्लाहकै क्रममा राजनीतिक बहस हुँदा सरले बहुदलीय प्रजातान्त्रिक समाजवादको व्याख्या गर्नुभएछ। नेपाली कांग्रेसलाई कू’ गरेर भर्खरै निर्दलीय पञ्चायती शासन ल्याएका राजालाई सरको सुझाव चित्त नबुझेको हुन सक्छ। राजा निर्दलीय पञ्चायती व्यवस्थाका पक्षपाती थिए भने खालिङ सरले राख्नुभएको प्रस्ताव बहुदलीय प्रजातन्त्रको थियो। आफ्नो अड़ान कायम राख्दै उहाँले बहुदलकै पक्षमा जिरह गरेपछि राजा र उहाँबीच मतभेद भएको कुरा मैले सङ्केतका रूपमा बुझेको हुँ। मनमा निराशा बोकेका खालिङ सरले ‘जबसम्म नेपालमा बहुदलीय प्रजातन्त्र आउँदैन, तबसम्म नेपाल फर्कनेछैन’ भनेर दार्जीलिङ गएको कुरा अस्पष्ट रूपमा मैले सुनेको हुँ।
त्यसताका सिलगढ़ी कलेज अफ कमर्समा मेरो पढ़ाइ जोड़तोड़ले चलिरहेको थियो। रात्रिकालीन कलेज भएको हुँदा दिनभरि उपलब्ध हुने मेरो फुर्सदलाई सदुपयोग गर्नु थियो। विद्युत्को तालिम सक्दै गर्दा औषधि बिक्री व्यवसायतर्फ पनि मेरो ध्यान जाँदै थियो।
त्यही समयमा भारतमा नेपाली साहित्यको प्रचारप्रसारका लागि सिलगढ़ीमा एउटा कार्यसमिति गठन भएको थियो। साहित्यकार मीमलाल सापकोटा, साहित्यकार युवराज काफ्लेका साथमा अरू साहित्यप्रेमीहरूको जमघटबाट सिलगढ़ीको दार्जीलिङ मोड़को बाटोछेउमा पसलजस्तो एउटा कार्यालय स्थापना गरियो। शुरु-शुरुमा हामीले त्यही कार्यालयबाट पालैपालो पत्रिका बेच्न थाल्यौँ।
साहित्यकार मीमलाल सापकोटाका बाबा वयोवृद्ध विष्णुनारायण सापकोटासमेत हामीसँग सामेल हुनुहुन्थ्यो। उमेरले वृद्ध भए पनि हौसला बुलन्द भएका बाबाले हामी सबैलाई तह लगाउनुहुन्थ्यो। यो टोलीले उक्त संस्थालाई अघि बढ़ाउन सहयोग पुर्यायो। पठनपाठनलगायत अन्य क्रियाकलापअन्तर्गत परीक्षा बोर्ड गठन गरेर सञ्चालन गरिएको कार्यक्रमबाट धेरै विद्यार्थीहरू लाभान्वित भएका थिए। उक्त कार्यक्रममा परीक्षा बोर्डको कोअर्डिनेटर पद नन्दलाल सापकोटाले सम्हालेका थिए।
तत्कालीन भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले देशभरि लगाएको इमर्जेन्सीका क्रममा हाम्रो पसल पनि सड़कछेउबाट हटाइयो र कार्यालय मीमलाल सापकोटाको घरमा सारियो।
मलाई लाग्छ, त्यही समयमा एक योग्य तथा अनुभवी व्यक्तिका रूपमा खालिङ सर समितिको आग्रहमा सिलगढ़ी आउनुभएको हो। गुरुङ बस्ती र प्रधाननगर छिर्ने बाटोमै एउटा एकतले पक्की घर थियो। त्यो घरमा ‘थापा क्लिनिक’ भन्ने साइनबोर्ड लागेको थियो। कारणवश थापा क्लिनिक बन्द भएपछि त्यही घरमा नेपाली साहित्य प्रचार समितिले एउटा नेपाली प्रिन्टिङ प्रेस सञ्चालनमा ल्याएको हो।
‘सुमेरु प्रेस, सिलगढ़ी’ नामकरण गरिएको उक्त प्रेसको सम्पूर्ण जिम्मेवारी समितिले बहुआयामिक व्यक्तित्वका धनी खालिङ सरलाई सुम्पियो। खालिङ सर आफैँ कम्पोजर, आफैँ अपरेटर र आफैँ बुक बाइन्डर भएर काम गर्नुभएको मैले आफ्नै आँखाले देखेको हुँ्।
भनिएको थियो, “खालिङ सर निकै कड़ा स्वभावका हुनुहुन्छ। उहाँ कुनै त्रुटि चाहनुहुन्न। नो एक्सक्युज, नो आर्ग्युमेन्ट।” काम सफा हुनुपर्छ र समयमै हुनुपर्छ। उहाँकै आग्रहमा प्रेसमा सहयोगीका रूपमा मीमलाल सापकोटाका साँहिला भाइ भीमलाल सापकोटा नियुक्त भए। भीमलाल खालिङ सरसँग निकै डराउँथे। मैले उनलाई “नबिराउनु, नडराउनु” भन्ने उक्ति सुनाइदिएको थिएँ। उनी मैले सुनाएको उक्तिमा भरोसा गर्दै सरलाई सहयोग गरिरहेका थिए।
विवाहको कार्ड छपाउन म प्रेसमा पुग्दा सर भित्री कोठामा हुनुहुन्थ्यो। सायद कुनै काम गर्दै हुनुहुन्थ्यो। बाहिरपट्टि भीम बसिरहेका थिए। सरले बोलाइहाल्नुहुन्छ कि भनेर उनी सजग देखिन्थे। मैले उनलाई इसाराबाट केही सोधेँ, उनले पनि इसाराबाटै केही उत्तर दिए।
यत्तिकैमा भित्रबाट सरको आवाज आयो, “ए भीम! उ त्यो ल्याऊ त।”
हडबडमा उनले पनि “हस् सर!” भनिहाले। अब उनलाई फसाद पर्यो। के लिएर जाने? उनले मतिर टाउको घुमाए। अनुहारमा प्रश्नवाचक चिह्न थियो। मैले उनलाई भित्र चियाउन भनेँ, “भित्र सर कागज फोल्ड गर्दै हुनुहुँदो रहेछ। मैले उनलाई नाइफ (चक्कु) लगिदिन भनेँ। उनले डराउँदै-डराउँदै नाइफ पुर्याए। भगवान्ले रक्षा गरे, सरलाई नाइफ नै चाहिएको रहेछ।”
कलेजका केही नेपालीभाषी साथीहरूसँगको सल्लाहमा सिलगढ़ी कलेज अफ कमर्सका विद्यार्थीहरूका लागि परिचयपत्र (आईडी कार्ड) को व्यवस्था मिलाउन तत्कालीन कलेज प्रिन्सिपल हरेन घोषको कार्यालयमा हामी पुग्यौँ। रात्रिकालीन कलेज भएको हुँदा कलेजका विद्यार्थीहरूलाई आईडी अनिवार्य भएको थियो। उहाँ बङ्गाली भए तापनि नेपालीहरूप्रति सद्भाव राख्ने र नेपाली कवितासमेत लेख्ने व्यक्ति हुनुहुँदो रहेछ। हाम्रो कुरालाई सहर्ष स्वीकार गर्दै काम अघि बढ़ाउन उहाँले आदेश दिनुभयो।
कार्ड छपाइका लागि हामी सरको प्रेसमा पुग्यौँ। यो कामको प्रमुख भूमिकामा नन्दलाल सापकोटा, बसन्त दाहाल, गोपीकृष्ण प्रसाईं, युवराज घिमिरे, शान्तिराम निरौला र म स्वयंलगायत केही अन्य विद्यार्थी साथीहरू थियौँ।
प्रेस पुगेर मैले नै भित्र पस्न सरसँग अनुमति मागेँ, “मे आई कम इन, सर?”
भित्रबाट सरको चर्को आवाज आयो, “नो, डु नट कम इन। धुलाबारीबाट यहाँसम्म आउन कसैको परमिसन चाहिएन, यहाँ पस्न तिमीलाई परमिसन चाहियो? ‘आई एम कमिङ, सर’ भनेर आउन सक्दैनौ? आऊ!”
सरको यस्तो भनाइ सुनेर म जड़वत् भएँ। कति महान् हृदयका धनी! मैले उहाँको कुनै पनि औपचारिक कक्षा अटेन्ड नगरेको हुँदा म उहाँको विद्यार्थी हुन नसकेको रहेछु।
उहाँले भन्नुभयो, “तिमी मलाई सर नभन, बरु दाइ भन। तिमी लीलाप्रसाद सापकोटा सरको भाइ होइनौ? त्यसैले मेरो पनि भाइ।”
आईडेन्टिटी कार्ड छापिएर तयार भयो। नाम र फोटोहरू टाँसेपछि त्यसमा प्रिन्सिपलको हस्ताक्षरसँगै रबर स्ट्याम्प लगाउनुपर्ने भयो। तर कलेजको रबर स्ट्याम्प पुरानो भएर स्पष्ट देखिँदैनथ्यो। त्यो बेला रबर स्ट्याम्पहरू कलकत्ताबाट झिकाउनुपर्थ्यो। तर हाम्रो समस्या समाधान भयो। सरले यसको उपाय निकालिदिनुभयो। ‘प्रिन्सिपल’ लेखेको लेटर प्याड कम्पोज गरेर सरले प्रेसबाटै मेटल स्ट्याम्प तयार गरिदिनुभयो। त्यो मेटल स्ट्याम्प लागेको आईडी कार्ड हालसम्म पनि मैले सुरक्षित राखेको छु, किनकि त्यसमा सरका हातको स्पर्श विद्यमान छ। समय बितिरह्यो, हामी पनि समयसँगै दौड़िरह्यौँ। सरको प्रेसमा नेपाली साहित्य प्रचार समितिका विभिन्न आवश्यक पत्र तथा कागजातहरू छापिइरहे। अन्य प्रिन्टिङ सामग्रीहरू थपिँदै जाँदा हेल्परका रूपमा काम गरेका भीमले पनि प्रेसको काम राम्ररी सिक्ने मौका पाए।
“सर (दाइ), नमस्कार! हजुरको हालखबर के छ?”
अब त म पनि सरसँग निकै हेलमेल गर्ने भइसकेको थिएँ। उहाँदेखि डर लाग्न भने छोड़िसकेको थियो। मलाई लाग्यो, सरको बारेमा हामीलाई जसरी परिचय गराइएको थियो, उहाँ त्यस्तो हुनुहुन्न रहेछ। उहाँ त ममता, वात्सल्यता, दया, सद्भाव, करुणा र प्रेमका सागर हुनुहुँदो रहेछ। मेरो प्रश्नको उत्तर उहाँले निकै समयपछि मात्र दिनुभयो। मलाई थाहा भएन, उहाँ कुन सोचाइमा बग्दै हुनुहुन्थ्यो। उहाँको मनमा कस्ता-कस्ता विचारहरू तरङ्गित भइरहेका थिए। लेटर कम्पोजिङ गर्दा हातहरू कालामैला देखिएका थिए। वस्त्रहरू धुलाम्मे र मैला देखिँदै थिए। अनुहार लामो समयदेखि केही नखाएजस्तो देखिन्थ्यो। गालामा दाह्री झ्याप्पै बढ़ेका थिए।
मैलो भइसकेको पाइन्टमा हात पुछ्दै उहाँ स्टुलबाट उठेर कुर्सीमा बस्नुभयो। चिरपरिचित मुस्कानका साथ उहाँले मलाई नै प्रश्न तेर्स्याउनुभयो, “नमस्कार, नमस्कार! पूरै टोली लिएर आयौ त! कहिले आयौ नेपालबाट? नेपालको राजनीतिक चहलपहल कस्तो छ? राजा स्वाभाविक रूपमा मरेका हुन् कि मारिएका हुन्? राजापछि मुलुकको अवस्था कस्तो छ?”
उहाँको गहिरो प्रश्नले मेरो जीउ ढक्क फुल्यो। तुरुन्तै कुनै जवाफ सुझेन। सामान्य रूपमै बोलेँ, “राजा शिकार खेल्न चितवन गएका रहेछन्। बाघ देखेर डराएछन्। मचानमै ‘हार्ट अट्याक’ भएछ। काठमाडौँ ल्याइपुर्याउँदा बितिसकेका थिए अरे। मैले सुनेको कुरा सुनाइदिएँ।”
मैले थपेँ, “उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ आर्यघाटमा भयो अरे। युवराज वीरेन्द्र नयाँ राजा हुने भएका छन् अरे।”
सरलाई आफू राजाको सल्लाहकार हुँदाको समयको याद आएको हुन सक्छ। मैले पुनः थपेँ, “उहाँको निधनमा शोक मनाउँदै देशभरिका असङ्ख्य पुरुष नागरिकहरूले कपाल मुण्डन गरेछन्। देशमा सन्नाटा छाएको छ, सर!”
मेरो रिपोर्टपछि केहीबेर हामीबीच पनि सन्नाटा छायो।
उहाँले पुनः सोध्नुभयो, “उहाँहरू चाहिँ को हुन् त?”
मैले मेरा कलेजका साथीहरूको परिचय गराएँ। साथीहरूमध्ये नन्दलाल सापकोटा भने उहाँसँग पहिल्यै परिचित थिए।
अब भने “उहाँ सीधा भएर बस्नुभयो।”
“अब तिमीले अघि सोधेको प्रश्नको उत्तर दिन्छु ल।”
एकछिनको तन्मयतापछि उहाँ सामान्य अवस्थामा आइसक्नुभएको रहेछ। “चप्पल खिएर कुर्कुच्चा र भुइँले किस खाँदैछ, दाह्री पनि काट्न भ्याएको छैन, बजार जाने टाइम पनि पाएको छैन। अब चप्पल अझै खिएपछि ब्लेडको जस्तो धार आउला, अनि त्यसैले दाह्री खुर्किउँला भन्दैछु हौ भाइ।”
सरको पाल्सी कुरा सुनेर साथीहरू छक्क पर्दै थिए। रमाइलोकै लागि मैले तात्तातै अर्को जिज्ञासा राखेँ, “सर! तपाईँलाई आनन्द चाहिँ कहिले आउँछ, कि आउँदैन?”
उहाँले हाँसेर उत्तर दिनुभयो, “नुहाएर गम्छाले जिउ पुछ्छ नि, हो, त्यतिबेला गम्छा ठाड़ो पारेर ढाड़ पुछ्दा चाहिँ खुब आनन्द आउँछ हौ।”
कति सजिलै सर आफ्नो स्वाभाविक रूपमा आउनुभयो। मैले सोचेँ, “विद्वान्हरूको विद्वत्ताको कदर गर्नैपर्छ।” उहाँ आफ्नो अड़ानअनुसार नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि मात्र फर्कनुभयो। नेपाल फर्केपछि बिर्तामोड़लाई बासस्थान बनाएर त्यहाँका नाम कहलिएका स्कुलहरूमा फरक-फरक समयमा अध्यापन गराउनुभएको कुरा हामीले फागुन 30 गतेको कार्यक्रममा सुनिसकेकै छौँ। पछि धुलाबारी क्याम्पसको आग्रहमा पनि लामो समयसम्म अध्यापन गराउँदै बिर्तामोडबाट धुलाबारी ओहोरदोहोर गरिरहनुभयो। क्याम्पसबाट फर्किंदा धुलाबारी चोकमा रहेको मेरो घर (औषधि पसल) मा पानी पिउन निस्कनुहुन्थ्यो। आवश्यक औषधिबारे चर्चा पनि गरिन्थ्यो।
उहाँ बिरामी पर्दा प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ जी र म उहाँलाई भेट्न बिर्तामोड़ गएका थियौँ। उहाँको अवस्था अझ नाजुक हुँदै गएपछि उहाँलाई आफ्नै घर दार्जीलिङ लगिएको रहेछ, जहाँ उहाँले जीवनको अन्तिम सास फेर्नुभयो। विधिको विधानलाई कसले पो रोक्न सक्छ र! तर मेरो मनमा भने उहाँ सधैँ जीवित हुनुहुन्छ र रहिरहनुहुनेछ। नेपाल प्रतिभा पुरस्कार प्रोत्साहन प्रतिष्ठानको बिर्तामोड़मा फागुन 30 गते सम्पन्न कार्यक्रममा वक्ताका रूपमा रहनुभएका पत्रकार तथा गीतकार चन्द्र भण्डारी र फर्पिङ बोर्डिङ स्कुलका तत्कालीन विद्यार्थी, सरका निकटतम शिष्य तथा उक्त कार्यक्रमका प्रमुख अतिथि श्री राजेश खड्काज्यूले दिनुभएको वक्तव्यका हरफहरूलाई यी तथ्य र सत्य कुराहरूले थप पुष्टि गर्न मैले चाहेको हुँ। अन्यथा दान खालिङ सरका बारेमा जति बोले पनि, जति लेखे पनि कम नै हुनेछ। उहाँले एक दिन भद्रपुरबाट फर्किँदा बसभित्र बाटोभरि मलाई धेरै गहन कुराहरू सुनाउनुभएको थियो। मैले बसभाड़ा दिन खोज्दा, “तिमी मेरो भाइ हौ, तिम्रो पैसा गोजीमा राख”, भनेर भाड़ा आफैँ तिर्नुभयो। उहाँले त्यस दिन सुनाउनुभएका कुरा त थुप्रै छन्, तर यहाँ केही अंश मात्र यस लेखको अन्त्यमा राख्न चाहन्छु।
मैले सोचेको थिइनँ कि सरभित्र यति धेरै सारतत्त्वहरू लुकेर बसेका छन्। बिर्तामोड़मा सम्पन्न उक्त भव्य कार्यक्रममा सिलगढ़ीबाट आउनुभएका साहित्यकार श्री ज्ञानेन्द्र खतिवड़ाले राख्नुभएको प्रस्तावअनुसार खालिङ सरको नामको अगाड़ि एउटा सम्मानसूचक शब्द थप्नुपर्ने भएको छ, र त्यो शब्द हो- ‘मनीषी’।
“खालिङ सर आजदेखि मनीषी डेनियल खालिङ हुनुभएको छ। यो कुरालाई त्यस दिनको भव्य कार्यक्रममा उपस्थित हामी सबैले मौन समर्थन गरेका छौँ जस्तो लागेको छ।” उहाँले आफ्नो जीवनको अधिकांश ऊर्जाशील समय नेपाललाई दिँदै नेपालमा बहुदलीय प्रजातन्त्र तथा नेपाली भाषा, साहित्य र शिक्षाको विकासमा ठूलो योगदान पुर्याउनुभएको यथार्थ जगजाहेर छ। अन्त्यमा, यिनै शब्दपुष्पद्वारा सरप्रति हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
खालिङ सरका मुखारविन्दबाट निस्किएका केही वाक्यांश
- तनको होइन, मनको दामी हुनुपर्छ।
- इमानदारीको नतिजा ढिलो आउँछ, तर पक्का आउँछ अनि राम्रो आउँछ।
- तिमीलाई नराम्रो लागेको मान्छेको सङ्गतै नगर।
- तिमीले मद्यपान, धूमपान र मांसाहार नगरेको मलाई खुबै मन पर्यो।
- कुरा छोटो गर, तर काम लामो गर।
- शिक्षा, स्वास्थ्य र स्वतन्त्रता मानव जातिको नैसर्गिक अधिकार हो।
- विश्वका सबै मानिसहरू हाम्रै दाजुभाइ हुन्।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्य • ०७ नोभेम्बर, २०२६
अन्य • २९ अक्टोबर, २०२६
अन्य • २८ अक्टोबर, २०२६