पाकिमदेखि नथुलासम्म

बी. एन. खतिवडा ‘अनुरागी’ पाकिम, सिक्किम
• साहित्य • ०७ नोभेम्बर, २०२६
पाकिमदेखि नथुलासम्म

कथा

अमर र आरतीले सिक्किमको पाकिम एयरपोर्टमा बसेर धेरै मीठा-मीठा गफगाफ गरे। उनीहरूको गफ पाकिमभित्रकै थियो। अमर पाकिमकै रैथाने हुनाले उसलाई पाकिमको धेरै जानकारी छ। ऊ कुरा गर्दै जान्छ। ‘‘सिक्किमका जम्मा 6 वटा जिल्लामध्ये पाकिम पनि एउटा सुन्दर र हराभराले भरिएको जिल्ला हो। पाकिमभित्रै ‘पाक्योङ ग्रीनफिल्ड एयरपोर्ट’ पर्छ।’’ आरती खुब चाख मानेर सुन्छे। अमर सबै कुरा भन्दै जान्छ।

पाक्योङ एयरपोर्ट 4 हजार 646 फिटको उचाइमा अवस्थित छ। यो भारतवर्षकै सबैभन्दा उचाइमा अवस्थित एयरपोर्ट हो। यो सिक्किमको राजधानी गान्तोकदेखि दक्षिणपट्टि 30 किलोमिटर टाढ़ा पर्छ।

पाकिम, कार्तोक र यहाँवरिपरिका मानिसहरूले सुनखरी र सिम्बिडियमको ठूलो-ठूलो खेती गर्छन्। पाकिमको आईसीएआर कम्प्लेक्समा राष्ट्रिय स्तरको सिम्बिडियम र धेरै जातिका सुनखरीको खेती हुन्छ। याक्तेनलगायत पाकिमवरिपरि थुप्रै होमस्टेहरू पनि छन्। आरती र अमरले पाकिमवरिपरिका यी ठाउँहरू पहिल्यै घुमिसकेका पनि छन्।

पाकिमबाट आरती र अमर बिहानै 9 बजेतिर ट्याक्सीमा चढ़ेर गान्तोक बजार पुग्छन्। छाङ्गु घुम्न जाने उनीहरूको धेरै अगाड़िदेखिको इच्छा थियो। गान्तोकको एमजी मार्ग पनि घुम्ने उनीहरूको ठूलो इच्छा थियो। समय अनुकूल परिरहेको थिएन। उनीहरूले सोचेजस्तो मार्च-अप्रेल महिनामा घुम्न जाने योजना बनाए। बादलविनाको नीलो आकाश मात्र यो समयमा देख्न पाइने हुन्छ। साँच्चै घुम्ने, फिर्ने र रमाइलो गर्ने समय मार्च-अप्रेल नै हो।

मनमा नानाथरी कुराहरू सम्झिँदै उनीहरू गान्तोक बजारमा ओर्लिन्छन्। नयाँ र पुरानो बजारको मुखैमा नारायण दासको पुरानो चिया दोकान छ। त्यहाँ पसेर उनीहरूले एक-एक कप तातो चिया पिउँछन्। चियाको साथमा भुजा खाँदै उनीहरू गफ गर्छन्।

आरतीकी साथी अमृता पनि एउटा टेबलमा तातो चिया पिइरहेकी हुन्छे। उनीहरूका आँखा जुध्छन्। आरती र अमृताको भेट नभएको धेरै भएको छ। साँच्चै नै स्कुल पढ्दा एउटै बेन्चमा बसेर सँगै पढ़ेका साथीहरू छुट्टिएको आज पाँच वर्ष बितिसकेछ।

‘‘अमृता होइनौ? छेउमा आइज न, सँगै चिया पिउँ,’’ आरतीले भन्छे।

‘‘ए... यो मोरी त आरती पो रहिछे! झण्डै ठिमौनै सकिनँ,’’ अमृताले भन्छे।

उनीहरूका बीचमा नयाँ-पुराना धेरै लामा गफहरू हुन्छन्।

‘‘उहाँ को हुनुहुन्छ नि?’’ अमृताले अमरलाई देखाउँदै सोच्छे।

‘‘मेरो जीवनसाथी नि,’’ आरतीले उत्तर दिई।

अमृताले दुवैलाई अभिवादन गर्छे र भविष्यको शुभकामना दिन्छे।

‘‘हाम्रो बिहे भएको वर्षदिनजति भइसक्यो। छाङ्गु घुम्न जाऔँ भनेर आज निस्केको नि,’’ आरतीले आफ्नी साथी अमृतातिर फर्केर भन्छे।

अमृता धेरैचोटि छाङ्गु घुम्न गइसकेकी छ। उसलाई छाङ्गुको बारेमा राम्रो जानकारी छ। उसले छाङ्गुको बारेमा धेरथोर कुराहरू गफैगफमा सुनाउँछे।

यो समय छाङ्गु घुम्ने राम्रो समय हो। गान्तोकदेखि छाङ्गु 40 किलोमिटर टाढा पर्छ। जेएन रोड भएर जानुपर्छ। छाङ्गुदेखि नथुला 12 किलोमिटर पर्छ। बाटोमा हिउँ ड्याम्मै परेको हुन्छ। चाँप र गुराँस फुलेर चारैतिर हिमाल ढकमक्क फुलेको झैँ देखिन्छ। हिउँ सेताम्मे हुन्छ। रमाइलो हुन्छ। चौँरीका बाछाहरू हेर्न पाइन्छ। सुनपाती, भैरुङपाती भन्ने राम्रा, मीठा-मीठा सुगन्धित धूपहरू पाइन्छन्। ठूला-ठूला चौँरीगाईहरूको दर्शन हुन्छ।

बाटोमा हरभजन बाबाको मन्दिर भेटिन्छ, जसलाई बाबाधाम भनिन्छ। त्यहाँ पूजा-अर्चना गरेर मात्र अगाड़ि बढ्नुपर्छ। चोखो र पवित्र विचारले पूजापाठ गरे आफ्ना इच्छाहरू सबै पूरा हुन्छन् भन्ने किंवदन्ती छ। हो पनि, यात्रीहरूको यस मन्दिरप्रति पूर्ण विश्‍वास छ। यस मन्दिरमा यात्रीहरूले धेरै थोक चढ़ाउने गर्छन्। मन्दिरका पुजारीले प्रसाद वितरण गर्छन्।

हिउँमा प्रशस्त खेल्न पाइन्छ। फोटो खिचिन्छ। छाङ्गु पोखरीको रमणीय दृश्य साह्रै सुन्दर छ। सिक्किमलगायत भारत तथा विदेशबाट समेत पर्यटकहरूको भीड़ लाग्छ। तर विदेशी पर्यटक भने छाङ्गु पोखरीसम्म मात्रै जाने अनुमति हुन्छ। बाबाधाम र नथुला जान निषेध छ।

अमृताले सबै बताउँदै लगेर ‘‘तपाईँहरू त नथुलासम्मै पुगेको राम्रो हुन्छ,’’ भनिन्। नथुला चीन र भारतको सिमाना हो। यहाँ दुई देशबीचको व्यापार पनि हुन्छ। दुई देशका आ-आफ्ना देशपट्टि ठूला राष्ट्रिय झण्डाहरू छन्। हाम्रो देशको ठूलो तिरङ्गा झण्डा सधैँ फरफराइरहन्छ। सिमानामा ठूला पर्खाल छन्, काँड़ेतारले बारिएका छन्। सिमानामा सिपाहीहरू आ-आफ्नो पाराले खटिएका छन्। उनीहरू चौबीसै घण्टा मातृभूमिको सुरक्षाका निम्ति खटिएका हुन्छन्।

‘‘अँ... अर्को कुरा, सिमानामा जान स्पेसल पास चाहिन्छ, नत्र छाङ्गु पोखरीको दर्शन गरेर त्यहीँबाट फर्किनुपर्छ। यो स्पेसल पास पनि नथुलासम्म जाने भारतीय पर्यटकलाई मात्रै मञ्जुरी छ। विदेशी पर्यटकलाई निषेध छ। तीन माइलको चेकपोस्टमा यात्रुको पासपोर्ट, फोटो र अन्य कागजपत्र बुझाएर पास र परमिट बनाइन्छ।’’

नथुलासम्म घुम्न जाने हो भने त्यही तीन माइल चेकपोस्टबाटै स्पेसल पास बनाउन अनिवार्य पर्छ।

अमृताले अझ अगाड़ि कुराहरू बढ़ाउँदै भन्छिन्, ‘‘हाइ अल्टिच्युडमा जाँदा भोक र तिर्खा बढ़ी लाग्छ। अल्टिच्युड सिकनेस हुने डर पनि हुन्छ। यसको मुख्य औषधि तातोपानी, चिया, भुटेको मकै, अदुवा र सुक्खा खानेकुराहरू इत्यादिको बन्दोबस्त गरेर गएको राम्रो हुन्छ। लगाउने लुगाहरू न्यानो र बाक्लो हुनुपर्छ। साना नानीहरू र वृद्धवृद्धाहरूलाई अल्टिच्युड सिकनेसले धेरै साह्रो-गाह्रो पार्न सक्छ। यसका लागि शरीरको तापक्रम न्यानो राख्नु र सुक्खा खानेकुरासँग तातोपानी पिउँदै गर्नु राम्रो हुन्छ।’’

आरती र अमरले अमृतालाई यी सबै जानकारीका लागि धन्यवाद दिँदै उनीहरू छुट्टिन्छन्। समय बिहानको 11 बजिसकेको छ। एउटा बोलेरो हायर गरेर उनीहरू आफ्नो गन्तव्यतिर लाग्छन्। तीन माइल चेकपोस्ट पुग्छन्। त्यहाँबाट नथुलासम्मको उचित पास र परमिट बनाएर उनीहरू अगाड़ि बढ्छन्।

साँच्चै, अमृताले भनेका रमणीय दृश्यहरूको अवलोकन गर्दै र मनोरञ्जन लिँदै उनीहरू अघि बढ्छन्। बाटोमा हिउँका ढिकाहरूमा खेल्छन्। फोटो खिच्छन्। खुब रमाउँछन्। छाङ्गु पोखरीका साथै हरभजन बाबाको मन्दिरको पवित्र मनले दर्शन गर्छन्। नथुलामा चीन र भारतको सिमानाको दर्शन गर्छन्। यो 14 हजार 140 फिटको उचाइमा अवस्थित छ। यहाँ कठ्याङ्ग्रिने जाड़ो हुन्छ।

अमरले आरतीलाई भन्छ, ‘‘तिम्रो साथी अमृता साँच्चै नै प्यारी साथी रहिछे। उनी इमानदार छिन्। साँचो मित्र यस्तो होस् भनेको कुरा सबै पुगोस्। उनले भनेका कुरा सबै सत्य रहेछन्।’’

नथुलासम्मको यात्रा सकेर उनीहरू दिनको 5 बजेतिर गान्तोकको एमजी मार्ग आइपुग्छन्। चालक पनि साह्रै सहयोगी र भलाद्मी थिए। उनलाई तोकिएको भाडा दिएर उनीबाट बिदा लिए।

अब बाँकी रहेको एक-दुई घण्टा समय एमजी मार्गमा घुमघाम गरेर बिताउने विचार गरे। एमजी मार्गको सफा र सुन्दर वातावरण, मीठो धुनमा गुनगुनाइरहेका अडियोहरू र ढकमक्क फुलिरहेका विभिन्न जातिका फूलका गमलाहरूको अवलोकन गर्दै र मनोरञ्जन लिँदै बेन्चमा बसेर भविष्यका मीठा-मीठा कुराहरू गर्छन्। पानीको फोहराको मनोरञ्जन लिन्छन्। गान्धीजीको अघि फोटो खिच्छन्।

गान्तोकको एमजी मार्ग साह्रै सुन्दर छ। त्यहाँ फोहोरमैला छैन। त्यहाँ थुक्नसमेत पाइँदैन। ठाउँ-ठाउँमा डस्टबिनहरू राखिएका छन्। त्यहाँ फोहोरमैला फ्याँक्नुपर्छ।

परिवार चिया दोकानमा पसेर नास्ता, कफी र चिया-खाजा खान्छन्। यत्तिकैमा समय बेलुकीको 7 बजिसकेको हुन्छ। अर्को ट्याक्सी हायर गरेर उनीहरू आफ्नो घर पाकिमतर्फ लाग्छन् र बेलुका 8 बजेतिर घर आइपुग्छन्।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन

यहाँ तपाईंको विज्ञापन देखिन सक्छ

300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →

सम्बन्धित समाचार

मानवको अवशेष

साहित्य • ०७ नोभेम्बर, २०२६

मानवको अवशेष

स्मृतिका पानामा जीवनका रङ

साहित्य • ०७ नोभेम्बर, २०२६

स्मृतिका पानामा जीवनका रङ

बण्डा

साहित्य • ०१ नोभेम्बर, २०२६

बण्डा

विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ